१७ बैशाख २०८३, बिहीबार

डढेलोले सल्यानमा ६ हजार हेक्टर वन नष्ट, उपकरणविहीन लडाइँ

सल्यान — गर्मी मौसम सुरु भएसँगै सल्यानका सामुदायिक र राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम तीव्र भएको छ। चैत र वैशाख महिनामा मात्र एक सयभन्दा बढी वन डढेलोको चपेटामा परेका छन्। ६ हजार हेक्टरभन्दा धेरै वन क्षेत्र नष्ट भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ।

बन्गाड कुपिण्डे नगरपालिकाका ३४, शारदाका १७, कालिमाटीका १७, छत्रेश्वरीका १६, त्रिवेणीका १६ र कपुरकोटका ६ वटा सामुदायिक वनमा डढेलो लागिसकेको छ। शनिबार र आइतबारको वर्षातले केही नियन्त्रणमा आए पनि पुनः डढेलो सुरु भइसकेको छ।

डिभिजन वन कार्यालयले वार्षिक रूपमा सचेतना कार्यक्रम गर्दै आए पनि मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको कार्यालय प्रमुख टेकबहादुर रावलले बताए। आधा दर्जन घर र दर्जनभन्दा बढी खानेपानी योजनाको पाइप जलेर नष्ट भएका छन्। कालिमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालका अनुसार धुलेमा भदे रानाको घर र खानेपानी योजनाको पाइप जलेको छ। ‘घरमा भएको खाद्यान्न र लत्ताकपडा सबै जलेर खरानी भएपछि बस्न र खान समस्या भएको छ,’ उनले भने। सात सय मिटर पाइप जलेपछि छत्रेश्वरी–५ का स्थानीय सातादेखि गाग्रीमा पानी बोकेर खान बाध्य छन्।

शारदा–४ मा डढेलो बस्तीनजिक पुग्दा भागाभाग भएको स्थानीय विमला शर्माले बताइन्। ‘प्रहरी, सेना, सशस्त्र र स्थानीय मिलेर पाँच घण्टाको प्रयास र ट्यांकरको पानीले नियन्त्रणमा लिएका थियौं,’ उनले भनिन्। कपुरकोट रेन्जपोस्टकी रेन्जर कमला घर्ती आगो निभाउने क्रममा चार जना घाइते भएको बताउँछिन्। ‘आगो निभाउने उपकरण केही थिएन, स्याउलाकै भरमा निभाउनुपर्यो,’ उनले भनिन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पूर्ण केसीले उपकरणकै अभावमा ज्यान जोखिममा पारेर आगो निभाउनु परेको बताए। डढेलोले वन्यजन्तु र पन्छीको बासस्थान उजाडिनुका साथै धूवाँका कारण आँखा र दमका बिरामी बढेका छन्। वर्षाले केही राहत दिए पनि अझै पूर्ण नियन्त्रणमा आउन नसकेको वन कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button