चौंरीपालक किसानमा उत्साह : गोसाइँकुण्ड क्षेत्रमा पहिलो याक तथा चौंरी महोत्सव सम्पन्न

रसुवा — आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक याक तथा चौंरी महोत्सव आयोजना गरिएको छ। उच्च हिमाली भेगमा आधारित चौंरीपालन व्यवसायको प्रवर्द्धन र किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले वैशाख १३ देखि १५ गतेसम्म सञ्चालित महोत्सवले स्थानीय किसानमा उत्साह थपेको छ।
महोत्सवमा चौंरीको दूध, चीज, दही, छुर्पीलगायत परिकारको प्रदर्शन तथा बिक्री गरिएको थियो। भेडाको ऊनबाट उत्पादित राडी, पाखी, गलैंचा, स्विटर, पटुका र टोपीजस्ता स्थानीय सामग्रीको बजारीकरणबारे पनि जानकारी दिइएको थियो। स्थानीय परम्पराअनुसार हिउँदमा चौंरीलाई बारीमा राख्ने र वर्षायाममा करिब चार हजार मिटर उचाइसम्मको हिमाली चरन क्षेत्रमा लैजाने चलन अझै कायम छ।
गोसाइँकुण्ड–३ का वडाध्यक्ष सुरेन्द्र तामाङका अनुसार क्षेत्रमा चौंरीसँगै भेडाबाख्रापालन पनि हुँदै आएको छ। महोत्सवले गतलाङस्थित वाङ्चो माने र यार्चामाने वन उपभोक्ता समितिको जंगललाई व्यवस्थित चरन क्षेत्रका रूपमा विकास गर्न प्रेरणा दिएको स्थानीय बताउँछन्।
आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले किसानलाई आवश्यक प्रविधि, बजारीकरण र पूर्वाधार सहयोग दिन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले वन संरक्षणसँगै पशुपालन व्यवसाय अघि बढाउनुपर्नेमा जोड दिए। स्थानीय फुर्पु तामाङका अनुसार महोत्सवले किसानको आत्मविश्वास बढाउनुका साथै नयाँ पुस्ताको आकर्षण पनि थपेको छ।




