१७ बैशाख २०८३, बिहीबार

राधास्वामी सत्संगमा सुकुम्वासी : खुला ट्रष्टमुनि हुरीले भिजेको रात, बोल्नै नपाइने निगरानी

काठमाडौं — सरकारले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाएपछि कीर्तिपुरस्थित राधास्वामी सत्संगमा अस्थायी रूपमा राखिएका ५७ परिवारका १६१ जनाको बसाइ सहज छैन। मंगलबार रातिको हुरीबताससहितको वर्षाले चारैतिर खुला ट्रष्टमुनि सुतेका उनीहरूको बिस्तारा भिजेको थियो। बुधबार मात्रै टेन्टको व्यवस्था गरिएको त्यहाँ खटिएका स्वयंसेवकले बताए।

सत्संग व्यवस्थापनमा खटिएका पर्शुराम दाहालका अनुसार बिहान ७ बजे चिया–बिस्कुट, ११ बजे खाना, दिउँसो २ बजे चिया–खाजा र साँझ साढे ६ बजे खानाको व्यवस्था गरिएको छ। सामाखुसीस्थित भवनबाट पकाएर ल्याइएको खाना लाइन लगाएर खुवाइन्छ। तर, सुरुका दिन प्याकिङको खाना वितरण गर्दा केहीलाई अपुग भएको उनले स्वीकार गरे। ‘हिजो राति हुरीबताससहित पानी पर्यो, छेउका केहीको बिस्तारा भिज्यो, त्यसैले अहिले टेन्ट हालेका छौं,’ उनले भने।

सरकारले एक हप्ताको खाना व्यवस्थापनको जिम्मा दिएको र १५ दिनभित्र स्थानान्तरण गर्ने बताएको दाहालले जानकारी दिए। तर, एक हप्तापछिको खानाको सुनिश्चितता नभएको उनको भनाइ छ। हाल ५० परिवारको क्षमता भए पनि सय परिवार राख्न मिल्ने र ५० वटा चर्पी भएकाले शौचालयको समस्या नभएको उनले बताए।

ट्रष्ट परिसरमा भेटिएका एक सुकुम्वासीले ‘हामी विशेष निगरानीमा छौं, बोल्दैनौं’ भन्दै पन्छिए। तर, एक वृद्धले बुहारीदेखि नातिसम्म एकै परिवार साँघुरो टेन्टमा कोचिनुपरेको गुनासो गरे। ‘बुहारी, जेठाजु, ससुरा सबै एकै ठाउँ बस्दा महिलालाई बढी समस्या छ,’ उनले भने। बालबालिका भने खाना मिठो भएको बताउँदै पढ्न र किताब पाउन चाहेको सुनाए।

सत्संग प्रवेशद्वारमै सुरक्षाकर्मी र स्वयंसेवकले मोबाइल क्यामेरा र अडियो रेकर्डिङ प्रयोग नगर्न भने। सुकुम्वासीसँग कुराकानी गर्न पनि रोक लगाइयो। ‘चिनेको मान्छेलाई गेटबाहिर बोलाएर कुरा गर्नुस्, भित्र बोल्न पाउनुहुन्न,’ एक नगरप्रहरीले भने। थापाथलीबाट आएका विक्रम लामाले भने ‘यहाँ सन्तुष्ट छौं, कुनै प्रेसर छैन’ भन्दै सामान्य समस्यालाई मिडियाले बढाइचढाइ गरेको आरोप लगाए। तर, केही महिलाले मिडियामा भिडियो आएकै कारण बाहिर कोठा पाउन समस्या भएको आक्रोश पोखे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button