२१ महिनापछि हनुमान नाचको विधिवत समापन, १९ स्थानमा प्रस्तुति
बागलुङ — नेवारी समुदायले तीन सय वर्षदेखि संरक्षण गर्दै आएको हनुमान नाच २१ महिनापछि मंगलबार विधिवत् रूपमा सम्पन्न भएको छ। नौ वर्षको अन्तरालपछि २०८१ भदौ ११ गते शुभारम्भ भएको यो नाच १९ पटक प्रस्तुत गरी बागलुङ बजारको हनुमान पौवामा पुगेर समापन गरिएको हो।
हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठका अनुसार आगामी तीन वर्षपछि मात्र नाच पुनः देखाइने योजना छ। विगतमा तीन वर्षमा देखाइने नाच खर्चिलो र व्यवस्थापनमा कठिन हुँदै गएपछि पाँच, सात र अहिले नौ वर्षको अन्तरालमा मनाउन थालिएको प्रधानकजी ईश्वरप्रसाद मलेपतीले बताए।
रामायण कथामा आधारित यस नाचमा शिरमा ‘श्रीराम’ लेखिएको रातो पटुका, रातो र सेतो पहिरन तथा पछाडि पुच्छर जोडेर हनुमानजस्तै देखिने १३ जोडी युवा १० तालमा नाच्ने परम्परा छ। नाचका क्रममा हनुमानलाई ‘वीर चढ्ने’ दृश्यले सबैलाई मोहित पार्ने गर्छ। यसपटक १९ प्रस्तुतिमा ४२ युवा सहभागी थिए।
भक्तपुरबाट १७६८ सालतिर व्यापारका लागि बागलुङ आएका नेवार समुदायले यो नाच सुरु गरेको इतिहास छ। बीचमा हराएको नाच २०१३ सालदेखि पुनः निरन्तर हुन थालेको हो। यसपटक नारायणचोक, किनाराटोल, राधाकृष्ण टोल, धौलागिरि चोक, गलकोट र कालिका मन्दिरलगायत १९ स्थानमा नाच प्रस्तुत गरिएको थियो। समापन समारोहमा बागलुङ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले हनुमान नाच बागलुङको पहिचानसँग जोडिएको बताए। कलाकार, वाद्यवादक र कजीलाई सम्मान पनि गरियो।





