१५ वर्षपछि सङ्गीतमा विनोद गुरुङको पुनरागमन, ‘हिम घोडा’ सार्वजनिक

काठमाडौं — गायक एवं सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किएका छन्। गुरुङले नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ्गीत क्षेत्रमा पुनरागमन गरेका हुन्।
गायक, पर्यटन व्यवसायी, समाजसेवी एवं फिल्म निर्माणमा समेत सक्रिय गुरुङले लामो समय सङ्गीतभन्दा समाजसेवालाई प्राथमिकता दिनुपरेको बताए। ‘देशमा भएका विभिन्न महामारी र मनाङमा बाढीपहिरोजस्ता विपद्का कारण गीतसङ्गीतभन्दा समाजसेवामा समय दिनुपर्यो,’ उनले भने, ‘अब भने यसै क्षेत्रमा निरन्तर लागिरहने प्रतिबद्धता छ।’
‘हिम घोडा’ गीतमा शब्द तथा सङ्गीत अशुसेन लामाले गरेका छन् भने सङ्गीत संयोजन राजु खड्काले गरेका छन्। मनाङका विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको यस गीतले मनाङको प्राकृतिक सुन्दरता झल्काउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ। गुरुङको गीतमा मनाङको संस्कृति, संस्कार र प्राकृतिक सौन्दर्य समावेश भएको पाइन्छ। ‘पुनः सङ्गीत क्षेत्रमा आउने सपना पूरा भएको छ। मेरा लागि गीतसङ्गीत एउटा साधना हो, जसले मलाई सधैं ऊर्जा र प्रेरणा दिन्छ,’ उनले भने।





