प्युठानमा चट्याङ पर्दा चार घाइते, एक गोरु मृत

प्युठान — जिल्लाको नौबहिनी गाउँपालिका–७ कोरङ्गेमा बुधबार बेलुकी चट्याङ पर्दा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घाइते हुनेमा ६३ वर्षीया जयमला खड्का, ३६ वर्षीया मनकुमारी खत्री, ४० वर्षीया ओवि खड्का र ४ वर्षीय अनमोल पुन छन्। घरबाहिर काम गरिरहेकी जयमलाको आँखा र टाउकोमा चोट लागेको छ भने उनको घरको विद्युत् मिटर बक्स जलेर क्षति भएको प्रहरीले जनाएको छ। घरभित्र बसिरहेका अवस्थामा ओविको शरीरका विभिन्न भागमा चोट लागेको छ भने चार वर्षीय अनमोललाई भित्री चोट लागेको छ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ। यसैगरी, स्थानीय लिलबहादुर खत्रीको गोठमा रहेको एक गोरु समेत चट्याङ लाग्दा मरेको प्रहरीले जनाएको छ।





