१७ बैशाख २०८३, बिहीबार

‘मेरो बालेन शाहले यस्तो गर्दैन’ : विराटनगरका सुकुम्वासी त्रसित, तर आशावादी

विराटनगर — सरकारले विराटनगरका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्वासीलाई हटाउन कदम चालेसँगै विराटनगर–१५ स्थित हडताली हाटका सर्वसाधारण आतंकित बनेका छन्। तर, उनीहरूले फागुन २१ को निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई मतदान गरेको स्मरण गर्दै सरकारले गरिबको बसोबास उजाड नबनाउने विश्वास पनि व्यक्त गरेका छन्।

‘मैले भनेकी बालेन शाहले त्यस्तो गर्दैन। भर्खर जितेको छ, यस्तो उपद्रो त गर्दैन। हामीले नै उहाँलाई खडा गरेको हो, जनतालाई यस्तो गर्न त मिल्दैन,’ हडताली हाटमा भेटिएकी एक महिलाले भनिन्। आधिकारिक जानकारी नआए पनि विभिन्न सञ्चारमाध्यममा एक साताभित्र भौतिक संरचना भत्काइने खबरले आफूहरू त्रसित भएको उनीहरूको भनाइ छ।

स्थानीयले तत्काल सो स्थान छाड्न नपर्ने र सरकारले जग्गा उपलब्ध गराए खरिद गरी अन्यत्र सर्न सकिने बताएका छन्। उनीहरूले जुटमिल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले काठमाडौंमा सुकुम्वासी हटाएको मौका छोपेर भूमाफियासँगको मिलोमतोमा आफूहरूलाई हटाउन खोजेको आरोप लगाएका छन्।

वडा नम्बर १५ का सचिव राजकुमार विश्वासले मजदुर क्वाटर र सुकुम्वासीबारे जानकारी तयार गरिरहेको बताए। ‘महानगरले नै परिपत्र गरेको छ, सबै वडामा सुकुम्वासीको तथ्याङ्क दिनुपर्नेछ,’ उनले भने। विराटनगर जुटमिलको करिब १४ सय बिघा क्षेत्रफलमध्ये वडा १५ को हडताली हाटमा मिलकै कर्मचारी र मजदुरका लागि करिब २५०–३०० संरचना बनाइएको थियो। पछिल्लो समय जग्गा अधिग्रहण गर्दै अन्य व्यक्ति पनि सो स्थानमा बसाइँ सरेको स्थानीय बताउँछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button