सभामुख अर्याल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता, बीआरआई कार्यान्वयनमा जोड

काठमाडौं — सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय विषयमा विचार आदानप्रदान भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याए। ‘नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन दिइने छैन,’ उनले स्पष्ट पारे। वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र नयाँ प्रविधिको प्रवर्द्धनमा केन्द्रित रहेको भन्दै उनले चीन सरकारको सहयोग अपेक्षित रहेको बताए।
सभामुखले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ कार्यान्वयनमा गति दिनुपर्ने धारणा राखे। सङ्घीय संसद्का दुवै सदन र संसदीय समितिमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने उनको भनाइ छ।
राजदूत चाङले सभामुखलाई बधाई दिँदै चीनका राष्ट्रपति सी चिनफिङको २०१९ को नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। उनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताप्रति चीनको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। नयाँ सरकारका सुधार प्रयास सकारात्मक रहेको र युवा नेतृत्वले मुलुकमा नयाँ ऊर्जा थप्ने विश्वास उनले व्यक्त गरे। उनले सभामुख र सांसदहरूलाई चीन भ्रमणको निम्तो पनि दिए। भेटमा दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउँदै संसदीय, आर्थिक, प्राविधिक तथा जनस्तरका सहकार्य विस्तार गर्ने सहमति जनाए।





