पुटिनद्वारा कंगोका राष्ट्रपतिको स्वागत, तेस्रो रुस–अफ्रिका शिखर सम्मेलनको निम्तो

काठमाडौं — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र कंगो गणतन्त्रका राष्ट्रपति डेनिस सासोउ न्गुएसोबीच मस्कोस्थित क्रेमलिनमा मंगलबार वार्ता भएको छ। पुनः निर्वाचित भएपछि कंगोली राष्ट्रपतिले पहिलो विदेश भ्रमणका रूपमा रुस रोजेकोमा पुटिनले आभार व्यक्त गरे।

‘हामी यहाँ आउँदै गर्दा राष्ट्रपतिज्यू र मैले सन् १९८१ मा पहिलो द्विपक्षीय सन्धिमा हस्ताक्षर भएको सम्झना गर्यौं। त्यतिवेलादेखि नै रुस (तत्कालीन सोभियत सङ्घ) र कंगोबीच मैत्रीपूर्ण, पूर्ण र असल सम्बन्ध रहँदै आएको छ,’ पुटिनले भने। उनले कंगोको स्थिर आन्तरिक राजनीतिक अवस्थाले व्यवसायका लागि राम्रो सम्भावना सिर्जना गरेको उल्लेख गर्दै भूगर्भीय अन्वेषण, ऊर्जा, रसद, कृषिलगायत क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए।

पुटिनले हालसम्म ८ हजार कंगोली विशेषज्ञ रुसमा प्रशिक्षित भइसकेको र अहिले ८५० युवा अध्ययनरत रहेको जानकारी दिए। ‘हामी अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय रूपमा सहकार्य गरिरहेका छौं। रुस–अफ्रिका शिखर सम्मेलनमा तपाईंको सक्रिय सहभागिताप्रति आभारी छौं। आगामी शरद ऋतुमा तेस्रो शिखर सम्मेलनको तयारी भइरहेको छ, तपाईंको व्यक्तिगत उपस्थितिको अपेक्षा गर्दै मस्कोमा निम्तो दिन चाहन्छु,’ पुटिनले भने।

भ्रमणका क्रममा आर्थिक क्षेत्रमा आगामी वर्षका लागि संयुक्त कार्ययोजनामा हस्ताक्षर हुने कार्यक्रम छ। कंगोली राष्ट्रपतिले सङ्घीय परिषद्को भ्रमण र सेन्ट पिटर्सबर्गको यात्रा पनि गर्नेछन्।





