१७ बैशाख २०८३, बिहीबार

‘दीर्घकालीन सम्झौता नै भारतलाई तेल मूल्य झट्काबाट जोगाउने हतियार’ — रुसी प्रवक्ता जाखारोभा

काठमाडौं — रुसी परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भारतीय समाचार पोर्टल फस्टपोस्टसँगको अन्तर्वार्तामा रुस र भारतबीचको ऊर्जा, रक्षा र रणनीतिक साझेदारीबारे विस्तृत धारणा राखेकी छन्।

उनले भारतको ऊर्जा सुरक्षामा रुसले कुदनकुलम आणविक ऊर्जा केन्द्र निर्माण र अनुकूल सर्तमा हाइड्रोकार्बन आपूर्तिमार्फत महत्त्वपूर्ण योगदान दिइरहेको बताइन्। भारतमा अर्को रुसी डिजाइनको नयाँ आणविक केन्द्र निर्माणको सम्भावनाबारे छलफल भइरहेको उनको भनाइ छ। ‘दीर्घकालीन निर्यात सम्झौतालाई हामी विश्वव्यापी र क्षेत्रीय अस्थिरताले निम्त्याउने तेल मूल्यको उतारचढावबाट साझेदारलाई जोगाउने मुख्य औजारका रूपमा हेर्छौं,’ उनले भनिन्।

रक्षा सहकार्यबारे जाखारोभाले रुस–भारत सम्बन्ध समयपरीक्षित, पारस्परिक विश्वासमा आधारित र वैदेशिक नीतिको उतारचढावबाट अप्रभावित रहेको बताइन्। ‘ब्रह्मोस क्षेप्यास्त्र प्रणाली सफलतापूर्वक सञ्चालनमा छ, एके–२०३ आक्रमण राइफलको श्रृङ्खलाबद्ध उत्पादन संयुक्त उद्यममा भइरहेको छ,’ उनले भनिन्।

हर्मुज जलसन्धिबारे उनले अमेरिका–इजरायलले इरानविरुद्ध अनावश्यक र गैरकानुनी आक्रमण सुरु नगरेसम्म ऊर्जा मार्ग अवरोधरहित सञ्चालन भएको बताउँदै रुस सुरुदेखि नै राजनीतिक र कूटनीतिक समाधानको पक्षमा रहेको स्पष्ट पारिन्। ब्रिक्सबारे उनले यसले विश्वको जीडीपी, जनसङ्ख्या र प्राकृतिक स्रोतको महत्त्वपूर्ण हिस्सा ओगट्ने बताइन्। युक्रेन सङ्कटको दिगो समाधान मूल कारण सम्बोधन गरेर मात्र सम्भव हुने उनको भनाइ थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button