अरब लिगका कूटनीतिज्ञको येकातेरिनबर्ग भ्रमण, साइबेरियामा लगानी र सहकार्यको ढोका खुल्यो

काठमाडौं — रुसी परराष्ट्र मन्त्रालयको राजकीय प्रोटोकल विभागले स्भेर्दलोभ्स्क क्षेत्रीय सरकारसँगको सहकार्यमा अरब लिगका सदस्य राष्ट्रका कूटनीतिक नियोग प्रमुख तथा वरिष्ठ अधिकारीहरूको येकातेरिनबर्ग भ्रमण गराएको छ। अप्रिल २०–२३ सम्मको उक्त भ्रमणमा अल्जेरिया, जिबुटी, इजिप्ट, जोर्डन, इराक, कतार, लेबनान, मौरिटानिया, ओमान, साउदी अरब र लिगको प्रतिनिधि कार्यालय सहभागी थिए।
भ्रमणको केन्द्रविन्दु स्भेर्दलोभ्स्कका गभर्नर डेनिस पास्लर र क्षेत्रका प्रमुख कम्पनीका नेतृत्वसँगको कार्यकारी बैठक थियो। दुवै पक्षले लगानी, उद्योग र मानवीय परियोजनामा द्विपक्षीय सहकार्यको प्राथमिकताबारे छलफल गर्दै नियमित व्यापारिक सम्पर्क कायम राख्ने सहमति गरे।
विदेशी पाहुनाले १६औं युरेसियाली आर्थिक युवा मञ्च र अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा भाग लिए। शिरोकोरेचेन्स्कोए सैन्य स्मारक परिसरमा उनीहरूले महान् देशभक्तिपूर्ण युद्धका सहिदको सम्मानमा अनन्त ज्योतिमा पुष्पमाला अर्पण गरे। साथै, अलेक्सी आन्तोनोभ पत्थर कुँदाइ सङ्ग्रहालय, सेभास्तियानोभ भवन र भेर्खन्याया पिश्माको यूएमएमसी सैन्य तथा नागरिक उपकरण सङ्ग्रहालय परिसरको पनि अवलोकन गराइयो।
भ्रमणपछि सहभागीले क्षेत्रको औद्योगिक, शैक्षिक र लगानी सम्भावनाको उच्च मूल्याङ्कन गर्दै सहकार्यका लागि अनुकूल वातावरण रहेको बताएका छन्। विदेशी प्रतिनिधिले व्यापारिक सम्पर्क विस्तार र संयुक्त पहलमार्फत अघि बढ्न ठोस कदम पनि प्रस्ताव गरेको रुसी परराष्ट्र मन्त्रालयले जनाएको छ।





