बुद्ध जयन्तीको अवसरमा म्यानमारमा १५ सय १९ कैदीलाई आममाफी

काठमाडौं — म्यानमारका राष्ट्रपति यू मिन आङ ह्लाइङले बुद्ध जयन्ती (बुद्ध डे) को अवसरमा बिहीबार १ हजार ५१९ जना कैदीलाई आममाफी प्रदान गरेका छन्। सरकारी सञ्चारमाध्यम म्यानमार रेडियो तथा टेलिभिजनका अनुसार बुद्ध जयन्तीका अवसरमा १ हजार ५०८ म्यानमारी र ११ विदेशी कैदीलाई छुट्टाछुट्टै आदेशमार्फत माफी दिइएको हो।
आममाफीको उद्देश्य जनतामा शान्ति र मानवीयता ल्याउनु, माफी पाएकालाई राष्ट्र निर्माणमा सहभागी गराउनु र मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु रहेको रिपोर्टमा उल्लेख छ। आदेशमा माफी पाएकाले पुनः अपराध गरेमा नयाँ सजायसँगै पुरानो बाँकी सजाय पनि भोग्नुपर्ने चेतावनी दिइएको छ। विदेशी कैदीलाई भने माफीसँगै देशनिकाला गरिने व्यवस्था गरिएको छ।
राष्ट्रपतिले छुट्टै आदेशमार्फत देशभरका कैदीको सजाय एक षष्ठांशले घटाएका छन्। यसअघि गत अप्रिल १७ मा म्यानमारको परम्परागत नयाँ वर्षको अवसरमा ४ हजार ५०० भन्दा बढी कैदीलाई आममाफी दिइएको थियो।





