स्यामसङको पहिलो त्रैमासिक नाफा ७५६ प्रतिशतले उकालिँदै कीर्तिमानी, अर्धचालकको जादु

काठमाडौं — दक्षिण कोरियाली प्रविधि कम्पनी स्यामसङ इलेक्ट्रोनिक्सले अर्धचालकको बलियो मागका कारण पहिलो त्रैमासिकमा कीर्तिमानी सञ्चालन नाफा आर्जन गरेको छ। जनवरी–मार्च अवधिमा कम्पनीको सञ्चालन नाफा गत वर्षको तुलनामा ७५६.१ प्रतिशतले उकालिँदै ५७.२३ ट्रिलियन वोन (३८.५ अर्ब अमेरिकी डलर) पुगेको कम्पनीले बिहीबार जनाएको छ।
कम्पनीको राजस्व ६९.२ प्रतिशतले बढेर १३३.८७ ट्रिलियन वोन (९०.१ अर्ब डलर) र खुद नाफा ४७४.३ प्रतिशतले बढेर ४७.२३ ट्रिलियन वोन (३१.८ अर्ब डलर) पुगेको छ। यो कीर्तिमानी आम्दानी मेमोरी चिपको बढ्दो माग र उच्च चिपको मूल्यका कारण सम्भव भएको हो।
स्यामसङको चिप उत्पादन व्यवसायले मात्र ५३.७ ट्रिलियन वोन (३६.१ अर्ब डलर) सञ्चालन नाफा र ८१.७ ट्रिलियन वोन (५४.९ अर्ब डलर) राजस्व कमाएको छ। सीमित आपूर्तिका बीच पनि उच्च मूल्य अभिवृद्धियुक्त एआईको माग सम्बोधन गर्दै कम्पनीले त्रैमासिक बिक्री कीर्तिमान तोडेको जनाएको छ।
दोस्रो त्रैमासिकमा पनि एआई पूर्वाधार विस्तारसँगै चिपको माग बलियो रहने कम्पनीको अनुमान छ। मोबाइल फोन खण्डको सञ्चालन नाफा २.८ ट्रिलियन वोन (१.९ अर्ब डलर) रहेको छ भने टीभी तथा घरेलु उपकरण खण्डले ०.२ ट्रिलियन वोन (१३४.५ मिलियन डलर) सञ्चालन नाफा कमाएको छ। तर, दोस्रो त्रैमासिकमा नयाँ मोडलको सुरुवाती प्रभाव घट्दै जाँदा मोबाइल फोन बिक्री भने घट्ने अपेक्षा गरिएको छ।





