लिबियाको तटीय क्षेत्रमा डुङ्गा अलपत्र, ७ को उद्धार, १७ को शव भेटियो

काठमाडौं — लिबियाको पूर्वी तटीय क्षेत्रमा एउटा डुङ्गा खराब भएर अलपत्र हुँदा ७ जनाको उद्धार गरिएको र १७ जनाको शव निकालिएको लिबियाली रेड क्रिसेन्टले बुधबार राति जनाएको छ।
सङ्गठनले जारी गरेको विज्ञप्तिअनुसार टोब्रुकस्थित नौसेना बेसको एउटा गस्ती जहाजले उक्त उद्धार कार्य सम्पन्न गरेको हो। डुङ्गामा सवार व्यक्तिहरू आठ दिनदेखि कठोर अवस्थामा समुद्रमा अलपत्र थिए। पूर्वी लिबियाका नौसेना एकाइ र तटरक्षकसँगको समन्वयमा आठ घण्टाभन्दा लामो समय लगाएर यो उद्धार गरिएको विज्ञप्तिमा उल्लेख छ।
युरोपसँगको निकटता र लामो भूमध्यसागरीय तटरेखाका कारण लिबिया अवैध आप्रवासीका लागि प्रमुख पारवहन केन्द्र बन्दै आएको छ। विशेषगरी शान्त मौसमका कारण मार्चदेखि सेप्टेम्बरबीचको अवधिमा यस्ता जोखिमपूर्ण समुद्री यात्रा बढ्ने गरेका छन्।





