१७ बैशाख २०८३, बिहीबार

ट्रम्पका विशेष दूत गोर आज काठमाडौं आउँदै, प्रधानमन्त्रीसँग भेट अनिश्चित

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आउँदै छन्। भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर बंगलादेश, भुटान, श्रीलंका र काजकिस्तानको भ्रमण सकेर नयाँ दिल्ली हुँदै नेपाल आउन लागेका हुन्।

लगानी र आर्थिक सहकार्यमा केन्द्रित रहने बताइएको भ्रमणका क्रममा गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने कार्यक्रम छ। तर, प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटका लागि अहिलेसम्म कुनै समय तय नभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। गोरको तर्फबाट भेटका लागि अनुरोध गरिए पनि प्रतिक्रिया नआएको बताइन्छ।

यसअघि १० दिनअघि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले तीन दिने भ्रमण गर्दा पनि प्रधानमन्त्री शाहले भेट गरेका थिएनन्। गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहको सचिवालयले अन्य मुलुकका प्रधानमन्त्री र मन्त्रीभन्दा कनिष्ठ अधिकारीसँग प्रधानमन्त्रीको भेटघाट नहुने बताएको थियो। यद्यपि, गोर राजदूत भए पनि विशेष दूतका रूपमा उनको हैसियत मन्त्री सरहकै हो।

यसैबीच, पोर्चुगलको विदेश मामिला तथा सहयोग मन्त्रालयकी सचिव आना इसाभेल हाभिएर पनि तीन दिने भ्रमणका लागि बुधबार राति काठमाडौं आइपुगेकी छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button