‘अध्यादेश लोकतन्त्रविरोधी, निरंकुशताको यात्रा’ — प्रचण्ड

रुकुम पश्चिम — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्र, संवैधानिक मान्यता र परम्पराविपरीत भएको बताएका छन्।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारलाई यस्तो गल्ती नगर्न सावधान गराउँदै ट्रेड युनियन र विद्यार्थी आन्दोलनमा अंकुश लगाउने प्रयास निरंकुशतातर्फको यात्रा हुन सक्ने चेतावनी दिए। ‘संवैधानिक व्यवस्था, परम्परा र अन्तर्राष्ट्रिय मान्यता मिचेर यस्ता कदम चालिनु गलत हो,’ उनले भने।
सुकुम्वासी बस्ती खाली गराउने सरकारी कदमप्रति पनि प्रचण्डले कडा असन्तुष्टि जनाए। ‘वास्तविक पहिचान र वैकल्पिक व्यवस्थापन नगरी बल प्रयोग गरेर डोजर चलाउने काम बिल्कुल गलत छ,’ उनले भने।
भर्खरै सम्पन्न आमनिर्वाचनबारे उनले कैयौं ठाउँबाट शंकास्पद रिपोर्ट आएको दाबी गरे। ‘जित्नुपर्नेले हारेको, हार्नुपर्नेले जितेको र आफैंले हालेको मतसमेत नपाएको सुनियो। यसकारण यो निर्वाचन सामान्य र स्वाभाविक होइन,’ उनले भने।
पार्टी एकताको बाँकी काम टुंग्याउन आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने तयारी भइरहेको जानकारीसमेत प्रचण्डले दिए।





