काठमाडौंको डोजरको त्रास दाङमा, राप्तीमा सुकुम्वासीद्वारा विरोध प्रदर्शन

दाङ — काठमाडौंका सुकुम्वासी बस्तीमा डोजर चलाइएको घटनापछि त्यसको प्रभाव दाङमा पनि देखिन थालेको छ। राप्ती गाउँपालिकाका सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीले आफूहरूमा त्रास फैलिएको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका छन्।
सुकुम्वासी, भूमिहीन अव्यवस्थित बसोबासी तथा मुक्त कमैया संघर्ष समितिको अगुवाइमा स्थानीयले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन्। उपाध्यक्ष कमलापती चौधरी र प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकलाई बुझाइएको ज्ञापनपत्रमा लामो समयदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका परिवारले सरकारी सेवा–सुविधा समेत सोही स्थानबाट उपभोग गर्दै आएको उल्लेख छ।
भूमि आयोगमार्फत लगत संकलन, निवेदन दर्ता र स्थलगत निरीक्षण भई जग्गाको निस्सासमेत प्राप्त गरिसकेको अवस्थामा अहिले बस्ती हटाउने कार्य अमानवीय भएको उनीहरूको भनाइ छ। संघर्ष समितिले सम्बन्धित बासिन्दालाई अविलम्ब जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै जबरजस्ती बस्ती हटाए त्यसको जिम्मेवारी सरकार आफैंले लिनुपर्ने चेतावनी दिएको छ।





