एक्सपायर लेभल र एमआरपीविनाका सामान विराटनगर भन्सारमा रोकिए

विराटनगर — मिति गुज्रिएको लेभल मार्क (एक्सपायर लेभल) र अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरी तेस्रो मुलुकबाट आयात भएका ट्रक तथा कन्टेनर विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा दुई दिनदेखि रोकिएका छन्।
भन्सार कार्यालय विराटनगरका प्रमुख उमेश श्रेष्ठका अनुसार वाणिज्य विभागको कार्ययोजनाअनुरूप मिति गुज्रिएको लेभल र अधिकतम खुद्रा मूल्य नभएका आयातित खाद्यान्न तथा कमर्सियल वस्तु जाँचपास नगरी रोकिएको हो। ‘भारत र अन्य राष्ट्रबाट सामान ल्याउँदा अधिकतम मूल्यको लेभल अनिवार्य राख्नुपर्ने प्रावधान छ,’ उनले भने, ‘हामीलाई आएको कार्ययोजनाअनुसार आयातित सामानमा एक्सपायर मिति र अधिकतम मूल्य टाँस नगरी आएका कन्टेनर रोकेका हौं।’
कार्यालयले मंगलबारबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्रीलगायतमा उक्त प्रावधान कार्यान्वयनमा ल्याएको हो। यस क्रममा दुई दिनमा करिब ६० कन्टेनर चौकीमा रोकिएका छन्। बिहीबार भने थप नयाँ कन्टेनर भित्रिएको छैन। श्रेष्ठले यस विषयमा भन्सार विभागलाई जानकारी गराइसकेको र विभागबाट निर्देशन नआएसम्म ती सामान आईसीपीमै रहने बताए।





