१८ बैशाख २०८३, शुक्रबार

‘पूर्वतयारी नै सूचना हो’: सहरी विकास मन्त्रालय

विस्थापित सुकुम्बासीको स्थायी व्यवस्थापन अझै अनिश्चित, अबका बस्ती खाली गर्दा पनि ठोस योजना छैन

काठमाडौं — सरकारले काठमाडौंका थापाथली, गैरीगाउँ, शान्तिनगर र मनोहराका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि १ हजार १६२ घरधुरी विस्थापित भएका छन्। तर, विस्थापितको स्थायी व्यवस्थापनबारे सरकारसँग अझै ठोस योजना छैन। सहरी विकास मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद मैनालीका अनुसार विस्थापितमध्ये ६८२ जनाले आश्रय मागेका छन्। जसमध्ये ४८१ जनालाई विभिन्न होटल र १४७ जनालाई कीर्तिपुरस्थित राधास्वामी सत्संगमा राखिएको छ। ‘स्थायी रूपमा कहाँ राख्ने भन्ने अझै निश्चित भइसकेको छैन, छलफल भइरहेको छ,’ उनले भने।

सरकारले बुधबार सूचना जारी गर्दै काठमाडौंका अन्य सबै सुकुम्बासी बस्तीमा पनि डोजर चलाउने घोषणा गरिसकेको छ। तर, त्यहाँबाट विस्थापित हुनेहरूलाई कहाँ राख्ने भन्नेबारे पनि अहिलेसम्म कुनै निश्चित योजना नभएको मैनालीले स्वीकार गरे। ‘अहिलेसम्म कहाँ राख्ने भन्ने छलफल भइरहेको छ, ठ्याक्कै यहीँ राख्ने भन्ने निश्चित भइसकेको छैन,’ उनले भने।

विस्थापित हुनेको सङ्ख्याबारे सरकारसँग कुनै अनुमानसमेत नरहेको उनको भनाइ छ। ‘पूर्व तयारीविना डोजर चलाउन थालिएको हो?’ भन्ने प्रश्नमा मैनालीले भने, ‘सूचना जारी भएको छ, त्यो तयारी नै हो।’ उनका अनुसार अहिलेसम्म खाली गराइएका बस्तीबाट सम्पर्कमा आएकाहरू मात्र सरकारको रेकर्डमा छन् र वास्तविक सुकुम्बासी पहिचान गर्न दुई/तीन वटा समिति बनाएर भेरिफिकेसनको काम भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button