१८ बैशाख २०८३, शुक्रबार

शिक्षा सुधारमा फिनल्यान्डसँग सहकार्यको प्रस्ताव, अटिजम र डिजिटल शिक्षामा पनि चासो

काठमाडौं — सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्यको प्रस्ताव गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो।

मन्त्री पोखरेलले फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिने भएकाले सहकार्यको प्रस्ताव राखिएको बताउँदै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। सरकारका प्रवक्तासमेत रहेका पोखरेलले आगामी दिनमा पनि शिक्षासहित समग्र क्षेत्रको विकासका लागि फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गरे।

जवाफमा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारको सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए। हाल फिनल्यान्डको सहयोगमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालित छन्। सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेशन’ मा फिनल्यान्डको विज्ञता रहेको भन्दै यी क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए। साथै, सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ को एजेन्डामा पनि साझेदारी गर्न फिनल्यान्डले चासो देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button