‘परम्परागत शैली तोडेर रुपान्तरणकारी बजेट ल्याउँछौं’ — अर्थमन्त्री वाग्ले

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले परम्परागत शैली र प्रवृत्ति तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको छलफलमा उनले परिणाममुखी र सुधार केन्द्रित बजेट आउने दाबी गरे।
‘आगामी बजेट सरकारको आय–व्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्छ,’ उनले भने। राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभित्र रहेर सबै मन्त्रालयलाई योजना बनाउन निर्देशन दिइएको छ। तर, आर्थिक रुपान्तरणका लागि यो सिलिङ अपर्याप्त रहेको उनको टिप्पणी छ।
अर्थमन्त्री वाग्लेका अनुसार आगामी वर्ष करिब १३ खर्ब ३० अर्बको अनिवार्य दायित्व रहेकोमा देशको राजस्व क्षमता करिब ११ खर्ब ८० अर्ब मात्र छ। ‘यस्तो अवस्थाले अनिवार्य दायित्व धान्नसमेत चुनौती छ,’ उनले भने। नतिजा नदिने र प्रभावहीन कार्यक्रम कटौती गरिने सङ्केत गर्दै उनले सार्वजनिक खर्चलाई रणनीतिक रूपमा बढाएर अर्थतन्त्र चलायमान बनाउने नीति लिइने बताए।
कर सुधारलाई प्राथमिकतामा राख्दै विद्यमान कर दर अव्यावहारिक भएको गुनासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले आयकर र भन्सार दर पुनरावलोकन गरिने बताए। ‘कर घट्दा राजस्व घट्छ भन्ने परम्परागत सोचमा सरकार छैन,’ उनले स्पष्ट पारे। करिब सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी भए पनि सम्भव रहेको उनको दाबी छ। निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख संवाहक भन्दै उनले इमानदार व्यवसायीलाई डराउनुपर्ने अवस्था नरहेको तर अनियमितता गर्नेप्रति सरकार कडा रहने चेतावनी दिए।





