१८ बैशाख २०८३, शुक्रबार

स्विप अपरेसन : एक सातामा १ हजार ४४ जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौं — नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अपरेसनअन्तर्गत वैशाख ९ देखि १६ गतेसम्म एक हजार ४४ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।

प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार उपत्यकाबाट ४१, कोसीबाट ५९३, मधेसबाट ३०, बागमतीबाट ५१, गण्डकीबाट १४०, लुम्बिनीबाट ४२, कर्णालीबाट ८७ र सुदूरपश्चिमबाट ६० जना पक्राउ परेका छन्। कोसी प्रदेशबाट सबैभन्दा बढी पक्राउ भएको छ।

सो अवधिमा अवैध लागुऔषध गाँजा १७६ किलो, चरेस १६ किलो, खैरो हेरोइन १ किलो ३७२ ग्राम र पोलेन १ किलो १४२ ग्राम बरामद भएको छ। नियन्त्रित लागुऔषधतर्फ डाइजेपाम १ हजार २२४, फेनारगन १ हजार ४१७, बुप्रेनोर्फिन १ हजार ७६, लुपिजेसिक ४१ एम्पुल तथा ट्रामाडोल ६२ हजार ९५, नाइट्राभेट २४२ र स्पास्मो १०३ ट्याब्लेट बरामद गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

डीआईजी काफ्लेले लागुऔषध कारोबार तथा आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी सदैव क्रियाशील रहेको बताउँदै सबै प्रदेश र जिल्ला प्रहरी कार्यालयमार्फत स्विप अपरेसनलाई निरन्तरता दिइएको जनाए। साथै, लागुऔषध दुर्व्यसनीले समाज र व्यक्तिगत जीवनमा पार्ने असरबारे प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button