१८ बैशाख २०८३, शुक्रबार

ट्रम्पका विशेष दूत गोर ६ सदस्यीय टोलीसहित काठमाडौंमा

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलसहित बिहीबार साँझ काठमाडौं आइपुगेका छन्। तीन दिने औपचारिक भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल गर्ने कार्यक्रम छ।

गोरले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने स्रोतको दाबी छ। उक्त भेटमा सुरक्षा सहकार्य, सैन्य तालिम र रणनीतिक साझेदारीबारे छलफल हुने अपेक्षा गरिएको छ। हाल भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारी सम्हालिरहेका गोर राष्ट्रपति ट्रम्पका विश्वासपात्र कूटनीतिज्ञ मानिन्छन्। यसअघि गत अप्रिल २० मा अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले पनि नेपाल भ्रमण गरेका थिए।

गोरको भ्रमणले गत फागुन २१ को चुनावपछि बालेन्द्र शाह नेतृत्वमा बनेको नयाँ सरकारसँगको कूटनीतिक सम्बन्धलाई थप गति दिने अपेक्षा गरिएको छ। उनी नयाँ सरकार गठनपछि नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञ हुन्। यद्यपि, गोर र प्रधानमन्त्री शाहबीच भेटवार्ता हुनेबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button