१८ बैशाख २०८३, शुक्रबार

डीडीसीको महाप्रबन्धकमा डा. पाण्डे नियुक्त, तीन महिनाभित्र किसानको ५० करोड बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता

काठमाडौं — कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन्। कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारी पाएका पाण्डेले बिहीबारै केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरे।

पदभार लिनेबित्तिकै उनले संस्थानको सबैभन्दा ठूलो समस्या किसानको बक्यौता भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेका छन्। ‘तीन महिनाभित्र किसानको ५० करोड रुपैयाँ बक्यौता चुक्ता गर्ने लक्ष्य छ,’ पाण्डेले भने, ‘त्यसपछि दूध खरिद गरेको १० देखि १५ दिनभित्रै किसानले भुक्तानी पाउने नियमित प्रणाली विकास गर्नेछु।’

पाण्डेको नियुक्तिसँगै यसअघि निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहेका सञ्जीव झा आठौं तहकै जिम्मेवारीमा फर्किएका छन् भने मन्त्रालय तानिएका राजेन्द्र अधिकारी नायब महाप्रबन्धकका रूपमा पुनः संस्थानमा फर्किएका छन्। मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत रहेका पाण्डेले बिक्री केन्द्र विस्तार र उत्पादनको गुणस्तर सुधारमार्फत उपभोक्ताको विश्वास जित्ने प्रतिबद्धता पनि व्यक्त गरे। ‘संस्थानलाई घाटाबाट मुक्त गराउँदै किसान र उपभोक्तामैत्री बनाउनेछु,’ उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button