नेपाल–चीन पारस्परिक सहयोग समाजद्वारा मे दिवसमा शुभकामना, बीआरआई कार्यान्वयनमा जोड

काठमाडौं — नेपाल–चीन पारस्परिक सहयोग समाजले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) को अवसरमा सम्पूर्ण श्रमिक वर्ग, कृषक, बुद्धिजीवी, व्यवसायी तथा आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
समाजका अध्यक्ष प्रेम सागर पौडेलद्वारा बिहीबार जारी शुभकामना सन्देशमा न्यायपूर्ण श्रम, समान अवसर र मानवीय गरिमाको पक्षमा ऐक्यबद्धता जनाइएको छ। ‘नेपाल र चीन दुवै मुलुक श्रम र श्रमिकको उच्च सम्मान गर्ने सभ्यताका वाहक हुन्। चीनले आफ्नो विकासको यात्रामा श्रमिक जनशक्तिको परिश्रम र निष्ठालाई सदैव प्राथमिकता दिँदै आएको छ, जसले सम्पूर्ण विश्वका लागि प्रेरणाको स्रोतको रूपमा काम गरेको छ,’ सन्देशमा भनिएको छ।
सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्ध भएको उल्लेख गर्दै यसलाई थप प्रगाढ बनाउन दुवै देशका श्रमिक जनता, व्यापारिक समुदाय, सांस्कृतिक संघसंस्था र बौद्धिक वर्गको योगदान अतुलनीय रहेको बताइएको छ। समाजले आगामी दिनमा पनि आर्थिक साझेदारी, सांस्कृतिक आदानप्रदान, श्रम सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।
विशेषगरी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) को कार्यान्वयनमार्फत दुवै देशका जनताले रोजगारीका नयाँ अवसर, पूर्वाधार विकास र जीवनस्तरमा सुधारको अनुभूति गर्न सक्ने विश्वास पनि सन्देशमा व्यक्त गरिएको छ। ‘श्रमको गरिमा र पारिश्रमिकको सम्मान सुनिश्चित गर्दै समुन्नत, न्यायपूर्ण र समतामूलक समाज निर्माणको अभियानमा सबैको सहकार्यको अपेक्षा गर्दछौं,’ अध्यक्ष पौडेलले भनेका छन्।





