१८ बैशाख २०८३, शुक्रबार

‘एआईले कर्मचारी हटाउने आधार होइन’ : चिनियाँ अदालतको ऐतिहासिक फैसला

काठमाडौं — चीनको हाङचौस्थित एक अदालतले कृत्रिम बुद्धिमत्ता (एआई) ले मानव कर्मचारीलाई प्रतिस्थापन गरेको विवादमा कर्मचारीको पक्षमा फैसला सुनाएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा सार्वजनिक यो फैसलाले स्वचालनको युगमा श्रम अधिकार संरक्षणका लागि आश्वस्त सन्देश प्रवाह गरेको विज्ञहरूले बताएका छन्।

झेजियाङ प्रान्तको हाङचौ मध्यवर्ती जनअदालतले मंगलबार सार्वजनिक गरेको यो मुद्दा एआईसम्बद्ध टेक कम्पनीले एक वरिष्ठ प्राविधिक कर्मचारीलाई बर्खास्त गरे पनि उच्च क्षतिपूर्ति दिन अस्वीकार गरेपछि विवाद उत्पन्न भएको थियो। अदालतले कर्मचारीको पक्षमा फैसला गर्दै बर्खास्तगीलाई गैरकानुनी ठहर गरेको हो।

सन् २०२२ नोभेम्बरमा मासिक २५ हजार युआन तलबमा गुणस्तर आश्वासन सुपरभाइजरका रूपमा कार्यरत झोउ नामक कर्मचारीको काम पछि एआई लार्ज ल्याङ्ग्वेज मोडलले गर्न थालेपछि कम्पनीले उनलाई मासिक १५ हजार युआन तलबको निम्न पदमा सार्न खोजेको थियो। झोउले अस्वीकार गरेपछि कम्पनीले संगठनात्मक पुनरसंरचना र कर्मचारी आवश्यकता घटेको भन्दै करिब ३ लाख ११ हजार युआन क्षतिपूर्तिसहित बर्खास्त गरेको थियो। मध्यस्थता प्यानलले पनि बर्खास्तगीलाई गैरकानुनी ठहर गरेपछि कम्पनी जिल्ला अदालत र त्यसपछि हाङचौ मध्यवर्ती अदालत पुगेको थियो।

मध्यवर्ती अदालतले एआईले काम गर्न थालेको कारणलाई श्रम कानुनले व्याख्या गरेको ‘वस्तुगत परिस्थितिमा ठूलो परिवर्तन’ को रूपमा मान्न नसकिने ठहर गर्यो। साथै, कम्पनीले प्रस्ताव गरेको वैकल्पिक पदमा तलब निकै कटौती भएकाले त्यो उचित पुनर्नियुक्ति प्रस्ताव नभएको र करार समाप्तिलाई गैरकानुनी ठहर गरियो।

झेजियाङ सिङजिङ कानुन फर्मका वकिल वाङ सुयाङले यो फैसलाले कम्पनीले एआईबाट दक्षता लाभ लिन पाए पनि सामाजिक उत्तरदायित्वबाट पन्छिन नसक्ने महत्त्वपूर्ण सिद्धान्त स्थापित गरेको बताए। यसअघि गत डिसेम्बरमा बेइजिङस्थित मध्यस्थता प्यानलले पनि एआईले प्रतिस्थापन गरेको आधारमा बर्खास्त गर्न नमिल्ने फैसला सुनाएको थियो। चीनको मूल एआई उद्योग सन् २०२५ मा १.२ ट्रिलियन युआन नाघेको र सन् २०३० सम्म नयाँ पुस्ताको बौद्धिक टर्मिनल प्रवेशदर ९० प्रतिशत नाघ्ने अनुमानका बीच यो फैसला महत्त्वपूर्ण मानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button