ब्राजिलको कंग्रेसद्वारा राष्ट्रपतिको भिटो उल्ट्याइयो, २०२३ को आक्रमण दोषीलाई सजाय घटाउने बाटो खुल्यो

काठमाडौं — ब्राजिलको कंग्रेसले राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको भिटोलाई बिहीबार उल्ट्याउँदै सन् २०२३ जनवरी ८ मा सङ्घीय सरकारी भवनमा भएको आक्रमणका दोषीहरूको सजाय घटाउन सक्ने विधेयक पारित गरेको छ।
‘डोसिमेट्री’ विधेयकका रूपमा चिनिने यस कानुनले असफल विद्रोहको प्रयास र लोकतान्त्रिक व्यवस्थाको हिंसात्मक उन्मूलनजस्ता अपराधमा सजाय घटाउँछ। साथै, आयोजक वा आर्थिक सहयोगी नभई भीडको हिस्साका रूपमा दोषी ठहर भएकाको हकमा एक तिहाइदेखि दुई तिहाइसम्म सजाय घटाउन सकिने व्यवस्था पनि यसले गरेको छ।
कंग्रेसका दुवै सदनले राष्ट्रपतिको भिटोलाई उल्ट्याउन तल्लो सदनमा ३१८–१४४ र सिनेटमा ४९–२४ को मतदान गरेका थिए। यो कानुनले २७ वर्षभन्दा बढी जेल सजाय सुनाइएका पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सहित करिब २८० जनालाई प्रभावित पार्न सक्ने अनुमान गरिएको छ।





