अमेरिकी सुपुर्दगी मागलाई मेक्सिकोको अस्वीकार, ‘प्रमाणबिनाको आरोप राजनीतिक’: राष्ट्रपति सिनबाउम

काठमाडौं — मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सिनबाउमले एक राज्यका गभर्नरसहित १० अधिकारीलाई हतियार र लागुऔषध तस्करीको आरोपमा सुपुर्दगी गर्न अमेरिकाले गरेको मागलाई बिहीबार अस्वीकार गर्दै विदेशी हस्तक्षेपको विरोध गरेकी छन्।
दैनिक पत्रकार सम्मेलनमा उनले गलत कामको उचित प्रमाणको अभावमा यी आरोप राजनीतिक रूपमा प्रेरित हुन सक्ने बताइन्। ‘हामीले अहिलेसम्म गरेजस्तै सार्वभौमसत्ताको रक्षा र विधिको शासन प्रमाणमा आधारित हुनुपर्छ,’ उनले भनिन्, ‘हामी कुनै पनि विदेशी सरकारलाई आएर मेक्सिकोका जनताको भविष्य निर्धारण गर्न दिने छैनौं।’
मेक्सिको–अमेरिका द्विपक्षीय सम्बन्धको इतिहासमा पहिलो पटक वासिङ्टनले मेक्सिकोका पदस्थ उच्च पदाधिकारी अर्थात् सिनालोआका गभर्नर रुबेन रोचालाई आपराधिक गतिविधिको आरोप लगाएको सिनबाउमले बताइन्। मेक्सिकोको महान्यायाधिवक्ता कार्यालयले आरोपमाथि ‘समानान्तर’ अनुसन्धान सुरु गरेको जनाउँदै उनले भनिन्, ‘यदि स्पष्ट प्रमाण छैन भने अमेरिकी न्याय विभागको यो आरोपको उद्देश्य राजनीतिक नै हो भन्ने प्रस्ट छ।’
अमेरिकी पक्षले अहिलेसम्म प्रस्तुत गरेको प्रमाणमा हस्तलिखित टिप्पणीसहितको एउटा नोटबुक मात्र छ, जसमा व्यक्तिहरूको उपनाम र तिनलाई लागुऔषध तस्करले कथित रूपमा भुक्तानी गरेको रकम उल्लेख छ। मेक्सिकोको अनुमतिविना नै केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) का एजेन्ट मेक्सिको भूमिमा लागुऔषधविरोधी अपरेसनमा संलग्न भएको हालैको खुलासाले दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। यी सबै घटनाक्रम अमेरिका–मेक्सिको–क्यानडा स्वतन्त्र व्यापार सम्झौताको निर्धारित पुनरावलोकनअघिको प्रारम्भिक वार्ताका बीच आएका हुन्।





