१८ बैशाख २०८३, शुक्रबार

एप्पलको त्रैमासिक आम्दानी १७ प्रतिशतले बढेर १११.२ अर्ब डलर, ग्रेटर चाइनामा उल्लेख्य वृद्धि

काठमाडौं — एप्पलले सन् २०२६ को दोस्रो त्रैमासिक (मार्च २८ मा समाप्त) मा १११.२ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा १७ प्रतिशतले बढी हो।

कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय नतिजाअनुसार प्रतिसेयर आम्दानी २.०१ डलर पुगेको छ, जुन २२ प्रतिशतले बढी हो। खुद नाफा गत वर्षको २४.७८ अर्बबाट बढेर २९.५८ अर्ब डलर पुगेको छ।

सेवा बिक्री २६.६५ अर्बबाट बढेर ३०.९८ अर्ब डलर पुग्दा आइफोन बिक्री ४६.८४ अर्बबाट बढेर ५६.९९ अर्ब डलर पुगेको छ। म्याक बिक्री ७.९५ अर्बबाट ८.४ अर्ब र आइप्याड बिक्री ६.४ अर्बबाट ६.९१ अर्ब डलर पुगेको छ। वेयरेबल्स, होम र एक्सेसरिजको बिक्री ७.५२ अर्बबाट बढेर ७.९ अर्ब डलर भएको छ।

एप्पलको ग्रेटर चाइना क्षेत्रमा खुद बिक्री १६ अर्बबाट बढेर २०.५ अर्ब डलर पुगेको वित्तीय विवरणमा उल्लेख छ। ‘आज एप्पलले आफ्नो सर्वोत्कृष्ट मार्च त्रैमासिक रिपोर्ट गर्न पाउँदा गर्व छ, जसमा १११.२ अर्ब राजस्व र हरेक भौगोलिक खण्डमा दोहोरो अंकको वृद्धि भएको छ,’ सीईओ टिम कुकले भने, ‘आइफोनले आइफोन १७ शृङ्खलाप्रतिको असाधारण मागका कारण मार्च त्रैमासिककै कीर्तिमानी राजस्व हासिल गरेको छ।’

एप्पल सञ्चालक समितिले प्रतिसेयर ०.२७ डलर (४ प्रतिशत वृद्धि) नगद लाभांश घोषणा गरेको छ, जुन मे ११, २०२६ सम्मका सेयरधनीलाई मे १४ मा भुक्तानी गरिनेछ। साथै, १०० अर्ब डलरसम्मको सेयर पुनर्खरिद कार्यक्रमलाई पनि स्वीकृति दिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button