इजरायली ‘आक्रामकता’ विरुद्ध इरान र लेबनान एकमत, युद्धविराम पालनामा जोड

काठमाडौं — इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्ची र लेबनानी संसद् अध्यक्ष नाबिह बेरीले लेबनानविरुद्ध इजरायलका ‘आक्रामक’ कारबाहीको कडा निन्दा गरेका छन्।
इरानी परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार दुई नेताबीच टेलिफोन वार्तामा लेबनान र पश्चिम एसिया क्षेत्रको पछिल्लो अवस्था, इरान र अमेरिकाबीचको शान्ति वार्ता तथा अन्य साझा चासोका विषयमा छलफल भएको थियो। दुवैले दक्षिणी लेबनानमा हजारौंलाई हताहत बनाउने, आवासीय क्षेत्र र पूर्वाधार ध्वस्त पार्ने र सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको ‘निर्मम’ कारबाही अन्त्य गर्न विश्वव्यापी प्रयासको अपिल गरे।
अराघ्चीले लेबनानविरुद्धको इजरायली ‘आक्रमण’ बन्द गर्नु इरान र अमेरिकाबीचको युद्धविराम सम्झौताकै हिस्सा भएकाले भविष्यका कुनै पनि कूटनीतिक प्रक्रियामा यस विषयमा ध्यान दिइने बताए। बेरीले लेबनानमा इजरायललाई यसको कारबाहीप्रति जवाफदेही बनाउनुपर्नेमा जोड दिए।
इरान, अमेरिका र इजरायलबीचको युद्धसँग जोडिएको सीमापार लडाइँपछि इजरायल र लेबनानबीच अप्रिल १६–१७ को मध्यरातदेखि युद्धविराम लागू भएको थियो, जसलाई अप्रिल २३ मा अमेरिकी राष्ट्रपति ट्रम्पले तीन सप्ताह थप्ने घोषणा गरेका थिए। यसैबीच, स्वीस समकक्षी इग्नासियो कासिससँगको अर्को टेलिफोन वार्तामा अराघ्चीले क्षेत्रीय जलक्षेत्र, विशेषगरी हर्मुज जलसन्धिमा असुरक्षा इरानविरुद्ध अमेरिकी र इजरायली ‘आक्रमण’ को प्रत्यक्ष परिणाम भएको बताए। फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानलगायत इरानी सहरमा संयुक्त हमला गर्दा तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ कमान्डर र सर्वसाधारणको मृत्यु भएको थियो। अप्रिल ८ मा युद्धविरामपछि इस्लामावादमा भएको इरान–अमेरिका वार्ता सहमतिविहीन टुंगिएपछि अमेरिकाले जलसन्धिमा आफ्नै नाकाबन्दी लगाएको थियो।





