अमेरिकामा पेट्रोल मूल्य ४ वर्षकै उच्च, क्यालिफोर्नियामा प्रतिग्यालन ६ डलर नाघ्यो

काठमाडौं — विश्वव्यापी तनावका बीच अमेरिकाको राष्ट्रिय औसत पेट्रोल मूल्य ४ वर्षकै उच्च बिन्दुमा पुग्दा क्यालिफोर्नियामा बिहीबार प्रतिग्यालन ६ डलर नाघेको छ।
६ करोडभन्दा बढी सदस्य रहेको गैरनाफामूलक संस्था अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार राष्ट्रिय औसत मूल्य एक सातामा २७ सेन्टले बढेर ४.३ डलर प्रतिग्यालन पुगेको छ। एएएले जारी गरेको विज्ञप्तिमा कच्चा तेलको मूल्य प्रतिब्यारल १०० डलर नाघेको र ‘हर्मुज जलसन्धि कहिले खुल्ने भन्ने कुनै सङ्केत नदेखिएको’ कारण तेलको मूल्य गत वर्षको यसै समयको तुलनामा १.१२ डलर बढी भएको उल्लेख छ।
‘पेट्रोलको मूल्य सन् २०२२ को जुलाई अन्त्यपछिकै चार वर्षयताकै उच्च हो,’ एएएले भनेको छ। बिहीबार क्यालिफोर्नियामा राज्यस्तरीय औसत ६.०१ डलर प्रतिग्यालन पुग्दा हवाई ५.६४ र वासिङ्टन ५.५७ डलरमा थिए। ओरेगन र नेभाडामा पनि पेट्रोल मूल्य प्रतिग्यालन ५ डलर नाघेर क्रमशः ५.१५ र ५.१२ डलर पुगेको छ।





