डेनमार्कको सीएचआईपी केन्द्रलाई डब्लुएचओको सहयोगी केन्द्रको मान्यता, एचआईभी र क्षयरोगविरुद्धको अभियानलाई बल

काठमाडौं — विश्व स्वास्थ्य सङ्गठनको युरोपेली क्षेत्रीय कार्यालय (डब्लुएचओ/युरोप) ले एचआईभी, भाइरल हेपाटाइटिस, क्षयरोग (टीबी) र यौनजन्य सङ्क्रमण (एसटीआई) विरुद्धको क्षेत्रीय प्रतिकार्यलाई सघाउन डेनमार्कको स्वास्थ्य तथा सङ्क्रामक रोग अनुसन्धान केन्द्र (सीएचआईपी) लाई नयाँ सहयोगी केन्द्रको रूपमा बिहीबार मान्यता प्रदान गरेको छ।
रिग्सहस्पिटालेट र कोपेनहेगन विश्वविद्यालयमा आधारित यस केन्द्रले डब्लुएचओ/युरोप र यसका सदस्य राष्ट्रसँग मिलेर प्रमाणलाई अभ्यासमा रूपान्तरण गर्न, सार्वजनिक स्वास्थ्य प्रतिकार्यलाई सुदृढ गर्न र क्षेत्रीय स्वास्थ्य लक्ष्य हासिल गर्ने गतिलाई तीव्र बनाउन काम गर्नेछ।
चार वर्षे अवधिमा केन्द्रले स्वास्थ्य जनशक्तिको क्षमता विकास, एचआईभी, भाइरल हेपाटाइटिस र एसटीआई परीक्षणमा पहुँच विस्तार, कार्यान्वयन तथा सञ्चालन अनुसन्धानलाई सुदृढ गर्ने र राष्ट्रिय जैवचिकित्सीय रोकथाम कार्यक्रमलाई अनुकूल बनाउने काम गर्नेछ।
डब्लुएचओ/युरोपका स्वास्थ्य सुरक्षा तथा क्षेत्रीय आपतकालीन निर्देशक इहोर पेरेहिनेत्सले भने, ‘डब्लुएचओ सहयोगी केन्द्रहरूले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक क्षमता विस्तार गर्दै, विशेषज्ञता प्रदान गर्दै र देश तथा क्षेत्रस्तरमा संस्थागत क्षमता सुदृढ गर्दै क्षेत्रीय स्वास्थ्य सुरक्षामा योगदान पुर्याउँछन्।’





