१८ बैशाख २०८३, शुक्रबार

‘सरकारका यी काममा तपाईंहरूको सहमति हो?’: एमाले महासचिव पोखरेलको रास्वपालाई ९ प्रश्न

काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका पछिल्ला कदमलाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग ९ वटा प्रश्न सोधेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको पोस्टमा उनले सरकारका गतिविधिले लोकतन्त्रको मर्ममाथि प्रहार भइरहेको आरोप लगाएका छन्।

महासचिव पोखरेलले भारतबाट आउँदा १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार लगाउने, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने, सुकुम्बासीका घर–टहरामा डोजर चलाउने, लेखनदासलाई सरकारी कार्यालय प्रवेशमा रोक लगाउने, विश्वविद्यालयका पदाधिकारीलाई अध्यादेशबाट हटाउने, आह्वान भइसकेको संसद् स्थगित गरेर अध्यादेश ल्याउने, संसदीय दलको नेताले बैठकमा उपस्थित नहुने र प्रदेश तथा पालिकाको संवैधानिक कार्यक्षेत्र मिचेर मन्त्रालयबाट निर्देशन दिनेजस्ता नौ विषय उठाएका छन्।

‘सरकारका यी विरोधाभाषी कामले लोकतन्त्रको मर्मलाई नै प्रहार गरिरहेको छ। तपाईंहरूलाई आशा गरेर मतदान गर्ने जनतालाई निराश बनाइरहेको छ,’ पोखरेलले भनेका छन्, ‘के साँच्चै यी काममा तपाईंहरूको सहमति हो? हो भने जनसंवादमा आएर जनतालाई स्पष्ट पार्नुहोस्। होइन भने जनताले तपाईंको अभिमत, साथ र उत्तर खोजिरहेका छन्।’ #जवाफदेहिता #लोकतन्त्र #नेपालीराजनीति ह्यासट्यागसहित सार्वजनिक उक्त पोस्टले सत्तारुढ दल रास्वपाप्रति बढ्दो जनचासो र प्रश्नलाई सतहमा ल्याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button