युक्रेन युद्ध : पूर्वी मोर्चामा रुसी सेनाको निरन्तर अग्रता, २७५ भन्दा बढी सैनिकको क्षति

काठमाडौं — रुसी सशस्त्र बलले विशेष सैन्य अभियानअन्तर्गत पूर्वी मोर्चामा निरन्तर अग्रता हासिल गरेको रुसी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।
पूर्वी (भोस्तोक) समूहले शत्रुको रक्षा पंक्तिभित्र गहिराइसम्म अग्रता जारी राख्दै जापोरिज्जिया र द्नेप्रोपेत्रोभ्स्क क्षेत्रका विभिन्न स्थानमा एक मेकानाइज्ड, दुई आक्रमण, एक इन्फ्यान्ट्री ब्रिगेड र दुई आक्रमण रेजिमेन्टमाथि क्षति पुर्याएको छ। यस क्रममा २७५ भन्दा बढी सैनिक, चार बख्तरबन्द सवारी, सात मोटर सवारी र अमेरिकी १५५ मिमि पालादिन सेल्फ प्रोपेल्ड आर्टिलरी प्रणाली नष्ट भएको दाबी गरिएको छ।
द्नेप्र समूहले जापोरिज्जिया क्षेत्रमा एक मेकानाइज्ड र एक पर्वतीय आक्रमण ब्रिगेडमाथि प्रहार गरी २५ सैनिक, १२ मोटर सवारी, एक बुक–एम१ एन्टी–एयरक्राफ्ट प्रणाली, तीन रडार र तीन इलेक्ट्रोनिक युद्ध केन्द्र निष्क्रिय पारेको छ।
रुसी हवाई आक्रमणले युक्रेनका १४१ स्थानमा ऊर्जा पूर्वाधार, ड्रोन प्रक्षेपण स्थल र अस्थायी सैनिक तैनाथी क्षेत्रलाई निशाना बनाएको छ। हवाई रक्षा प्रणालीले ७ गाइडेड बम, २ हिमार्स प्रक्षेपास्त्र र ५७१ ड्रोन खसालेको छ। कालो सागर फ्लिटले थप ४ युक्रेनी मानवरहित जलयान नष्ट गरेको मन्त्रालयले जनाएको छ।





