बुद्ध जयन्तीकै दिन बल्खुमा डोजर, पाथीभरा मन्दिर र गुम्बा पनि भत्काइए

काठमाडौं — सरकारले काठमाडौंका खोला किनारका ‘अव्यवस्थित बस्ती’ हटाउने क्रममा शुक्रबार बिहानै बल्खु र टेकुनजिकैको वंशीघाट क्षेत्रमा डोजर चलाएको छ। यसक्रममा बल्खुस्थित सात तले पाथीभरा देवी मन्दिरसमेत भत्काइएको छ।
स्थानीय बिजुला विकका अनुसार महानगर प्रहरीले नभत्काउन आग्रह गरे पनि प्रहरीकै अगुवाइमा मन्दिर भत्काइएको हो। यसअघि बल्खुकै साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको गुम्बाका अध्यक्ष कपुरे तामाङले बताए। ‘बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरे पनि डोजर चलाइयो,’ उनले भने।
बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बस्ती खाली गर्न भनेपछि धेरैले आफैं घरटहरा खाली गर्न थालेका थिए। यसअघिका दिनजस्तै बाक्लो सुरक्षा घेराबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको उपस्थितिमा डोजर चलाएर बस्ती भत्काउन थालिएको हो। बुद्ध जयन्तीकै दिन पवित्र स्थलमा डोजर चलाइएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।





