१८ बैशाख २०८३, शुक्रबार

विस्थापित सुकुम्वासीका लागि रङ्गशालामै स्वास्थ्य शिविर, मनोसामाजिक परामर्शसहित बहुआयामिक सेवा

काठमाडौं — सरकारले बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ।

शुक्रबार साँझसम्म ६८ जनाले सेवा लिइसकेको र सम्भव भएको उपचार त्यहीँ गर्ने तथा थप आवश्यक भए सरकारी अस्पतालमा सिफारिस गर्ने व्यवस्था मिलाइएको सचिव देवकोटाले बताए। कीर्तिपुरमा पनि अर्को शिविर सञ्चालित छ, जहाँ आँखा र दाँत सेवा लिनेको सङ्ख्या उल्लेख्य रहेको छ।

रङ्गशालास्थित शिविरको नेतृत्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरिरहेको छ भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन मानसिक अस्पताल र कान्ति बाल अस्पतालबाट पनि विशेषज्ञसहितको टोली खटिएको छ। पाटन मानसिक अस्पतालका डा. वासुदेव कार्कीले मनोसामाजिक परामर्शसँगै आवश्यक औषधिसमेत उपलब्ध गराइरहेको जानकारी दिए।

‘बसोबास गुमाउँदा विस्थापितमा मनोसामाजिक तनाव हुन सक्ने, केहीमा पुराना रोग वा सङ्क्रमण देखिन सक्ने भएकाले प्रारम्भिक पहिचान र उपचारका लागि शिविर महत्त्वपूर्ण छ,’ सचिव देवकोटाले भने। पहिलो दिनको अनुभवका आधारमा शनिबारदेखि सेवालाई थप प्रभावकारी बनाइने उनले जानकारी दिए। कीर्तिपुर क्षेत्रमा भने वीर अस्पतालले सेवाको नेतृत्व गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button