बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा डोजर, दुई सातादेखि राजधानीदेखि जिल्लासम्म आतंक

काठमाडौं — संघीय राजधानी काठमाडौंदेखि अन्य जिल्लासम्म दुई सातादेखि सरकारी डोजर आतंक जारी छ। पानी–झरीकै बीच सुकुम्वासीलाई सामान सार्न केही घण्टाको समय दिएर सरकारले बस्ती धमाधम ध्वस्त बनाइरहेको छ। सयौंको सङ्ख्यामा सुरक्षाकर्मी उतारेर गरिएको यो ध्वस्तीकरण अभियान बुद्ध जयन्तीका दिनसमेत रोकिएन।

देशभर बुद्ध धर्मावलम्बीले भगवान् गौतम बुद्धको पूजा–आराधना गरिरहँदा काठमाडौंको बल्खुमा भने गुम्बामै डोजर चलाइएको छ। २०७८ कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार वैशाख शुक्ल पूर्णिमाकै दिन भत्काइयो। सोही बस्तीभित्र रहेको पाथीभरा देवीको मन्दिर पनि डोजर लगाएर ढालियो।
स्थानीयवासीले कम्तीमा बुद्ध जयन्तीका दिन गुम्बा नभत्काउन आग्रह गरे पनि सरकारी अधिकारी र सुरक्षामा खटिएकाले सुन्न नचाहेको उनीहरूको भनाइ छ। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा दुवै धार्मिक स्थल भत्काइएको हो। यद्यपि, काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि बुद्धमूर्ति तथा अन्य महत्त्वपूर्ण सामग्री भने बाहिर निकालेको थियो। यसअघि थापाथली, गैरीगाउँ, शान्तिनगर र मनोहराका बस्ती भत्काइसकिएको छ भने शुक्रबार बल्खु र वंशीघाटमा पनि डोजर चलाइएको हो।





