कांग्रेस सभापति थापा : संवैधानिक परिषद राज्य हो, सरकारले अध्यादेशमार्फत यसको बनोट बिगार्न खोज्यो

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले संवैधानिक परिषद राज्यको समग्र स्वरुप भएको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर यसको बनोट परिवर्तन गर्न खोजेको आरोप लगाए।
सभापति थापाले भने, ‘सरकारले एउटा अध्यादेश ल्याएको छ – संवैधानिक परिषद सम्बन्धी। त्यो संवैधानिक परिषद्मा को को हुन्छ? प्रधानमन्त्री हुन्छ, प्रतिनिधिसभाको सभामुख हुन्छ, उपसभामुख हुन्छ। सरकार भनेको कार्यकारी हो, तर संवैधानिक परिषद भनेको राज्य हो।’ उनले यसअघिका सरकारले पनि यस्तै गडबड गरेको भन्दै नयाँ सरकारले सोच्न नमिल्ने काम गरिरहेको आरोप लगाए।
संवैधानिक परिषदको बनोट फेर्न गलत तरिकाले अध्यादेश ल्याइएको भन्दै थापाले सरकारको यो कदमले कानुनको शासनलाई कमजोर बनाएको टिप्पणी गरे। उनले सरकारले कानुन बनाउने, बदल्ने र ‘ठोकिदिने’ मानसिकता राखेको आरोप पनि लगाए।
सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको सरकारको कामप्रति पनि थापाले आलोचना गरे। वास्तविक सुकुम्बासीलाई पहिचान गरेर बसोबासको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। नदी किनारमा बस्नेमध्ये कतिपयसँग अरू घरजग्गा रहेको भन्दै उनले तिनलाई हटाउनुपर्ने तर असली सुकुम्बासीलाई बस्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले सरकारले कानुनको परिधिभित्र रहेर नागरिकसँग ‘युद्ध अपराधीजस्तो’ व्यवहार गर्न नहुने बताए।
प्रतिपक्षी दलका रूपमा आफूहरू सहयोगी र नम्र भए पनि कमजोर नभएको सभापति थापाको भनाइ थियो। उनले सरकारलाई ५ वर्षको म्यान्डेट दिएको भन्दै राम्रो काममा सहयोग रहने तर गलत काममा प्रश्न, खबरदारी र आवश्यक परे प्रतिरोध गर्ने बताए। उनले आफ्नो नम्रतालाई सरकारले कमजोरी नठान्न पनि आग्रह गरे।





