१८ बैशाख २०८३, शुक्रबार

अमेरिकी विशेष दूत गोरद्वारा परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग भेटवार्ता, प्रधानमन्त्रीसँग भेट अनिश्चित

काठमाडौं — नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत तथा भारतका लागि राजदूत सर्जियो गोरले शुक्रबार राजनीतिक भेटघाट सुरु गरेका छन्। बिहीबार साँझ काठमाडौं ओर्लिएका उनले शुक्रबार पालैपालो परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरे।

परराष्ट्र मन्त्रालयमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै द्विपक्षीय सम्बन्ध सुदृढीकरणबारे छलफल भएको जनाइएको छ। गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटका लागि अनुरोध गरेको तर हालसम्म समय तय नभएको बताइएको छ। यसअघि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले पनि प्रधानमन्त्री शाहलाई भेट्न पाएका थिएनन्।

६ सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँ दिल्लीबाट नेपाल वायुसेवाको उडानमा आएका गोरसँगै नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका रक्षा एट्याची मेजर जनरल प्याट्रिक ए. टिग पनि काठमाडौं आएका छन्। अन्य चार सदस्यको परिचय खुलाइएको छैन। पछिल्लो समय अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमणको क्रम बाक्लिएको छ। यसैबीच, वैशाख अन्तिम साता भारतीय विदेश सचिव विक्रम मिश्रीको पनि काठमाडौं भ्रमणको कार्यक्रम रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button