१८ बैशाख २०८३, शुक्रबार

प्रधानमन्त्रीसँग भेट अनिश्चित भएपछि भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिन वैशाख अन्तिम साता नेपाल आउने तयारीमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण तत्कालका लागि स्थगित भएको छ।

भारतीय स्रोतका अनुसार प्रधानमन्त्री शाहले भेटका लागि ‘हुन्छ’ पनि नभनेको र ‘हुन्न’ पनि नभनेका कारण अन्योल उत्पन्न भएपछि भ्रमण स्थगित गरिएको हो। ‘प्रधानमन्त्री शाहले भेटका लागि हुन्छ पनि नभन्ने र हुन्न पनि नभन्दा भारतीय पक्ष दुविधामा परेको छ,’ उच्च स्रोतले भन्यो। भ्रमणको नयाँ मितिबारे दुवै पक्षले केही खुलाएका छैनन्।

यसअघि भारतीय कूटनीतिज्ञले नेपालमा प्रधानमन्त्री तथा राष्ट्रपति तहका पदाधिकारीसँग सहजै भेट्ने गरे पनि प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञलाई एक्लाएक्लै भेटेका छैनन्। अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले पटक–पटकको प्रयासका बाबजुद भेट पाएनन्। हाल नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि प्रधानमन्त्रीसँग भेट्ने समय पाएका छैनन्। प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञलाई सामूहिक रूपमा मात्र भेट्ने र एक्लाएक्लै भेट्न नआउन भन्ने सन्देश दिएको बताइन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button