१८ बैशाख २०८३, शुक्रबार

दाङमै पहिलोपटक एन्जियोप्लास्टि सेवा सुरु, मुटु रोगीका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि मुटुको एन्जियोप्लास्टि सेवा सुरु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानकै डा. दिनेश उप्रेतीसहितको टोलीले पहिलो दिन दुई जना बिरामीको सफल एन्जियोप्लास्टि गरेको छ।

डा. देवकोटाले जिल्लामै यो सेवा सुरु भएपछि हृदयघातका बिरामीलाई दाङमै सहज उपचार सम्भव भएको बताए। ‘मुटुको रक्तनलीको उपचार दाङमा पहिलोपटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि हो,’ उनले भने। एन्जियोप्लास्टि गरिएका दुवै बिरामीको अवस्था सामान्य रहेको डा. उप्रेतीले जानकारी दिए।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालका अनुसार यसअघि मुटुको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अब हटेको छ। उक्त सेवाका लागि क्याथेल्याबसहित १० करोड बराबरका सामग्री जुटाइएको छ। प्रतिष्ठानले केही दिनअघि निदानात्मक एन्जियोग्राफी सेवा सुरु गरिसकेको थियो भने शुक्रबारदेखि उपचारात्मक एन्जियोप्लास्टि थालिएको हो। प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीले दाङमै सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीले पनि सहज सेवा पाउने बताए। हाल मुटुको उपचारमा एक लाखभन्दा बढी खर्च लाग्ने गरेकामा विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकरणको प्रक्रिया अगाडि बढिसकेको प्रतिष्ठानले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button