किराँत समुदायको उभौली सुरु, नखिपोटमा साकेला नाचको रौनक

ललितपुर — किराँत समुदायको प्रमुख चाड उभौली शुक्रबारदेखि सुरु भएको छ। यस अवसरमा किराँत याक्खा, सुनुवार, लिम्बू र राई समुदायले ललितपुरको नखिपोटमा सामूहिक रूपमा साकेला नाच नाचेका छन्।
कृषि कर्ममा आधारित यो चाड वैशाख पूर्णिमाका दिन मनाइन्छ। उभौलीमा प्रकृति, भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती सुरु गर्ने चलन छ। वर्षमा दुई पटक मनाइने साकेलामा गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न लेकबाट बेसी सर्ने भएकाले ‘उधौली’ मनाइन्छ। उभौलीका दिन ‘नोक्छो’ अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने परम्परा रहेको छ। उधौली मंसिर पूर्णिमामा मनाइन्छ र त्यति बेला नयाँ अन्न प्रयोग गर्ने चलन छ।





