एभरेष्ट बेसक्याम्पमा अमेरिकी ड्रोन प्रदर्शन : सार्वभौमसत्तामाथि प्रश्न

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य तथा दक्षिण एसियाली मामिला विशेष दूत एवम् भारतका लागि राजदूत सर्जियो गोरले शुक्रबार बिहान एभरेष्ट बेसक्याम्प पुगेर अल्ट्रा एक्स जेन २ नामक अमेरिकी कार्गो ड्रोनको औपचारिक उडान गराएका छन्। कार्यक्रममा नेपालस्थित कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बम पनि सहभागी थिए। नेपाल सरकारको पूर्व स्वीकृतिबिनै भएको यो ड्रोन परीक्षणले काठमाडौंको कूटनीतिक र राजनीतिक वृत्त तरङ्गित बनेको छ।
गोरले ड्रोनलाई अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण भन्दै यसले सगरमाथा क्षेत्रमा सरसफाइ, आपतकालीन सामग्री, अक्सिजन सिलिण्डर तथा आरोही उद्धारमा सहयोग पुर्याउने दाबी गरे। ‘हामी सुन्दर नेपालमा छौं, एभरेष्ट बेसक्याम्पमा छौं र यहाँ अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छौं,’ उनले भने। करिब ५ केजी भार क्षमताको उक्त ड्रोन फ्रिफ्लाई सिस्टमद्वारा निर्मित कार्गो ड्रोन भनिएको छ।
तर, आवश्यक अनुमति नलिई भएको यो ड्रोन उडानले नेपालको सार्वभौमसत्तामाथि गम्भीर प्रश्न खडा गरेको छ। सगरमाथा क्षेत्र नेपालको संवेदनशील सीमा क्षेत्र मात्र नभई चीनसँगको सीमा नजिकै पर्छ। त्यहाँ खुलमखुला ड्रोन परीक्षण गरिनुले असल छिमेकी मित्रराष्ट्र चीनलाई चिढ्याएको कूटनीतिक विश्लेषकको भनाइ छ। नेपाल सरकारले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
यता, सगरमाथामा अमेरिकी ड्रोन उडिरहेकै बेला राजधानीमा प्रधानसेनापति अशोकराज सिग्देलले गोरसँगै आएका मिलिटरी अट्याची मेजर जेनरल प्याट्रिक ए. टिगसँग भेट गर्ने कार्यक्रम सार्वजनिक भएको थियो। दुवै घटनाको समय र सन्दर्भले यसलाई थप संवेदनशील बनाएको छ। गोरले शुक्रबार दिउँसो परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरिसकेका छन् भने शनिबार बिहान रास्वपा सभापति रवि लामिछानेसँग ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम छ। तर, प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट भने अझै अनिश्चित छ।
विश्लेषकहरू यो घटनालाई नेपालको कमजोर नियामक संयन्त्र र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको सङ्केतका रूपमा हेर्छन्। ‘एकातिर प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञलाई भेट्नै नचाहने, अर्कोतिर सगरमाथामा स्वीकृतिविनै ड्रोन उडाउने— यी दुईबीचको अन्तरविरोधले नेपालको कूटनीतिक हैसियत कमजोर बनाएको छ,’ एक पूर्वकूटनीतिज्ञको टिप्पणी छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यसबारे कुनै जानकारी नभएको बताएको छ।





