कञ्चनपुरमा टिपरको ठक्करबाट किशोरको मृत्यु

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–१ मा शुक्रबार टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुपप्र ०२–००१ ख ०५९८ नम्बरको टिपरले भारतीय यूके ०६ एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार स्थानीय १४ वर्षीय दिवस चुनाराको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि भारतको खटिमा लगिएको प्रहरीले जनाएको छ।
टिपर चालक भने घटनापछि फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।





