२१ बैशाख २०८३, सोमबार

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्परामा बिदाइ, पौडेललाई जिम्मेवारी हस्तान्तरण

काठमाडौं — चार वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई शुक्रबार फौजी परम्पराअनुसार बिदाइ गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र झण्डा हस्तान्तरण गर्दै सम्पूर्ण जिम्मेवारी बरबुझारथ गरे।

समारोहमा अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे। ‘सङ्गठन सुधार एउटा प्रमुखले सुरु गरेर अर्कोले सक्ने विषय होइन, यो निरन्तर चलिरहने प्रक्रिया हो। राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत कर्मचारीको हितलाई सर्वोपरी राखेर काम गरेको छु,’ उनले भने।

नवनियुक्त महानिरीक्षक पौडेलले सङ्गठनमा स्थापित मूल्य र परम्परालाई थप सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम र जनउत्तरदायी बनाउने प्रतिबद्धता जनाए। ‘सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रूपमा स्थापित गरिनेछ। उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ— जहाँ आचरण शुद्ध हुन्छ, त्यहाँ निर्णय स्पष्ट हुन्छ; जहाँ मन दृढ हुन्छ, त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ,’ उनले भने। समारोहमा पूर्व महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारीलगायत सिनियर तथा जुनियर अधिकृत र जवानको उपस्थिति थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button