जोमसोमको कभर्ड हल : दुई करोड खर्चिँदा पनि ६ वर्षमा ४० प्रतिशत मात्र प्रगति, बजेट अभावमा अलपत्र

मुस्ताङ — घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन दुईतले बहुउद्देश्यीय कभर्ड हल बजेट अभावमा दुई वर्षदेखि अलपत्र परेको छ। सङ्घीय, प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा आव २०७६/७७ मा सुरु भएको आयोजनाको भौतिक प्रगति ६ वर्षमा जम्मा ४० प्रतिशत मात्र रहेको छ।
६ करोड ५८ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त कभर्ड हलमा हालसम्म २ करोडभन्दा बढी खर्च भइसकेको घरपझोङ गाउँपालिकाका इन्जिनियर चक्र बमले जानकारी दिए। उनका अनुसार समयमा बजेट सुनिश्चितता नहुने र विनियोजित रकम लागत अनुपातभन्दा न्यून हुँदा निर्माणले गति लिन सकेको छैन। दर्शक बस्ने प्यारापिट र भुइँतलाको स्ट्रक्चर निर्माण भइसकेको छ भने दुई तलाको समग्र संरचना उठिसकेको छ। हलभित्र र बाहिर विभिन्न कक्षकोठाका संरचना तयार भएका छन् भने फलामे ढोकासमेत जडान गरिएको छ।
आयोजनाको पहिलो वर्ष सङ्घबाट ४० लाख, प्रदेशबाट ५० लाख र गाउँपालिकाबाट १५ लाख गरी १ करोड ५ लाखको लागत साझेदारी भएको थियो। त्यसपछिका वर्षहरूमा पनि टुक्रे बजेट मात्र विनियोजन हुँदा कामले गति लिन सकेन। पछिल्लो दुई वर्षदेखि भने बजेट नै विनियोजन हुन नसक्दा निर्माण ठप्प छ।
४५ मिटर लम्बाइ र २५ मिटर चौडाइको यो कभर्ड हलमा ७०० देखि ८०० दर्शक अट्ने क्षमता रहनेछ। यसमा इन्डोर भलिबल कोर्ट, कार्यालय कक्ष, चेन्जिङ रुम, भीआईपी कक्ष, मेडिकल हल र शौचालयलगायत पूर्वाधार निर्माणको योजना छ। घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिए पनि विनियोजन हुन नसकेको बताए। ‘स्थानीय तहले चाहेर पनि पूरा गर्न नसक्ने भएकाले उपल्लो निकायको ध्यानाकर्षण गराइरहेका छौं,’ उनले भने। समुद्री सतहबाट २ हजार ७०० मिटर उचाइमा रहेको जोमसोममा दिउँसो १२ बजेपछि हावाहुरी चल्ने हुँदा आउटडोर खेल सञ्चालनमा समेत कठिनाइ भइरहेको छ। मुस्ताङका पाँच स्थानीय तहमा एउटै पनि कभर्ड हल नहुँदा खेलकुद कार्यक्रम आयोजनामा समस्या हुँदै आएको छ।





