एकै परिवारका १५ को मृत्यु, अमेरिका जानुअघि जलजला पूजामा गएका युवाविसीको परिवार नै सखाप

रुकुम पूर्व — रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा परी २० जनाको ज्यान गएपछि रुकुमकोट गहिरो शोकमा डुबेको छ। मृतकमध्ये एकै परिवारका १५ जना रहेका छन्, जसमा अमेरिका जाने तयारीमा रहेकी युवाविसी पनि छिन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार सिस्ने–५ टाकुरा निवासी ३२ वर्षीय गोर्ख विसी, उनकी आमा ५२ वर्षीया तिलकुमारी बुढाथोकी, छोरा १० वर्षीय दिव्यन विसी र भाउजू २८ वर्षीया युवाविसीको मृत्यु भएको छ। युवाविसीका श्रीमान दीपक केही वर्षदेखि अमेरिकामा कार्यरत थिए। उनी छोरासहित श्रीमानलाई भेट्न जाने तयारीमा थिइन् र वैशाख २८ का लागि हवाई टिकटसमेत तय भइसकेको थियो। अमेरिका जानुअघि माइती र घरपक्षका आफन्तसँग जलजलामा लाग्ने पूर्णिमा मेलामा सहभागी हुन जिप रिजर्भ गरेर गएका उनीहरू दुर्घटनामा परेका हुन्।
यसैगरी, गोर्खकी कान्छी आमा ४० वर्षीया ओमकुमारी बुढाथोकी, उनका सन्तान २४ वर्षीया सृजना र १३ वर्षीय सुदिप पनि मृतकमध्ये छन्। युवाविसीका माइती पक्षका दाङ घोराही–१५ की ५४ वर्षीया द्रोपदा जिसी, उनका श्रीमान यमबहादुर, छोरी २५ वर्षीया एलिसा, बुहारी ३२ वर्षीया तिला बिष्ट जिसी, एलिसाका ७ वर्षीय छोरा संयोग, तिलाका १२ वर्षीया छोरी जेनिसा र ७ वर्षीय छोरा जेनिस तथा आफन्त धनमाया बिष्ट गरी एकै परिवारका १५ जनाको ज्यान गएको हो।
दुर्घटनामा ज्यान गुमाउने अन्यमा चालक ४२ वर्षीय बेदु कामी, उनकी सासू ६० वर्षीया मिनाविक, सिस्ने–५ की ६० वर्षीया लक्ष्मी शाह, २७ वर्षीया रुक्मिना बस्नेत र भूमे–५ का टेकप्रसाद बुढा छन्। क्षमताभन्दा बढी यात्रु रहेको जिपमा चालकसहित २१ जना सवार थिए। एक जना भने जिपबाट हाम फाल्दै ज्यान जोगाउन सफल भए। प्रहरीका अनुसार जिपको वैध क्षमता १२ जना मात्र भए पनि चेकपोस्टमा सोहीअनुसार विवरण दिएर बीच बाटोमा थप यात्रु चढाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सबै शव थबाङ अस्पतालमा सनाखतपछि ११ वटा रुकुम र ९ वटा रोल्पा जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि पठाइनेछ। गृह मन्त्रालयले एसपी यादव ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।





