१९ बैशाख २०८३, शनिबार

नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलान सकियो, ६५ किलोमिटर पक्की सडकले जोडियो

नवलपुर — नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको सबैभन्दा कठिन मानिएको दाउन्ने क्षेत्रमा एकतर्फी ढलानको काम सम्पन्न भएको छ। योसँगै पूर्वी खण्डको सम्पूर्ण ६५ किलोमिटर सडक कालोपत्र र पक्की सडकले जोडिएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।

दाउन्नेमा करिब चार किलोमिटर क्षेत्रमा एकतर्फी ढलानको काम सकिएको हो। ढलानको काम नसकिँदा सामान्य वर्षामै सवारी जामको समस्या हुँदै आएकोमा अब १४ दिनपछि उक्त खण्डमा पक्की सडकबाटै यात्रा गर्न सकिने खनालले बताए। ‘दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, अब चाँडै यात्रा सहज हुनेछ,’ उनले भने।

तर, दाउन्नेको पूर्वी खण्ड पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले २०७५ माघ २४ गते सम्झौता गरी २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी ११३ किलोमिटर सडक विस्तारको काम सुरु गरेको थियो। निर्धारित समयमा काम नसकिएपछि पटक–पटक म्याद थप गरिएको छ र हाल चौथो पटक थपिएको म्यादमा काम भइरहेको छ। आयोजना सुरु भएको सात वर्ष पूरा हुँदा यो खण्डको यात्रा भने सहज हुँदै गएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button