१९ बैशाख २०८३, शनिबार

अमेरिका उड्नुअघि भाकल गर्न जलजला गएका थिए, थवाङमा अस्ताए

दाङ — बुद्ध पूर्णिमाका दिन रोल्पाको जलजला क्षेत्रमा ठूलो मेला लाग्छ। रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका दीपक विसीको परिवार जलजलाको मेलामा सहभागी हुन बिहीबार नै घरबाट हिँडेका थिए। दीपक अमेरिका बस्छन्। श्रीमती युवा विसी र छोरा दिव्यनलाई उनले अमेरिका बोलाएका थिए। उनीहरू हप्ता–दस दिनमै अमेरिका उड्ने सबै तयारी भइसकेको थियो। उनीहरू अमेरिका उड्नुअघि जलजलाको मन्दिरमा पूजा र भाकल गर्ने सल्लाह भयो। त्यहाँ भाकल र पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। युवाको घर र माइतीका गरी १५ जना जलजला जाने टुङ्गो भयो।

उनीहरू लु १ ज ४१६७ नम्बरको जिप चढे। उनीहरूसहित २१ जना सवार जिप जलजलाका लागि मध्याह्नमा हिँड्यो। दिउँसो ३ बजेतिर जिप रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप पुगेको थियो। कच्ची बाटो भएकाले जिप डलपल हुँदै चलिरहेको थियो, एक्कासि सडकबाट खस्यो र गुल्टिँदै झन्डै ८०० मिटर तल पुगेर अडियो।

दुर्घटनामा २० जनाको घटनास्थलमै मृत्यु भयो। त्यसमा दीपकको घर र ससुरालीतर्फका आफन्त परेका छन्। दीपककी श्रीमती २८ वर्षीया युवा विसी, उनका १० वर्षीय छोरा दिव्यन, ५३ वर्षीया आमा तिलकुमारी विसी, भाइ २८ वर्षीय गोर्ख विसी, ४० वर्षीया अन्टी ओमकुमारी बुढाथोकी, ओमकुमारीकी छोरी २४ वर्षीया सृजना बुढाथोकी र ओमकुमारीका छोरा १३ वर्षीय सुदीप बुढाथोकीको पनि मृत्यु भएको छ।

सोही दुर्घटनामा परी माइती पक्षका दाङको घोराही–१५ रतनपुरका युवा विसीकी आमा ५० वर्षीया द्रोपती जिसी, बुबा यमबहादुर जिसी, युवाकी बहिनी २५ वर्षीया एलिसा जिसी, उनका ७ वर्षीय छोरा संयोग थापा, युवाकी भाउजू ३२ वर्षीया तिला जिसी, उनका छोरा जेनिस जिसी र छोरी १२ वर्षीया जेनिसा जिसीको मृत्यु भएको छ। उनीहरूकी आफन्त घोराही–१२ गुर्जे बस्ने धनमाया विष्टको पनि मृत्यु भएको छ।

दुर्घटनामा चालक ४२ वर्षीय बेदु कामी, उनकी सासू ६० वर्षीया मीना कमिनी, ६० वर्षीया लक्ष्मी शाह, २७ वर्षीया रुपमिना बस्नेत र भूमे–५ का टेकप्रसाद बस्नेतको पनि मृत्यु भएको छ। मृतकमध्ये ४ बालबालिका, ४ पुरुष र १२ महिला छन्।

त्यो भयानक दुर्घटनामा एक जना मात्र बाँच्न सफल भए— ३२ वर्षीय समिर कामी। छतमा बसेका समिर गाडीसँगै खसे पनि रुखको जरा समातेर ज्यान जोगाउन सफल भए। उनले सानो कच्ची र उकालो बाटोमा गाडीले तान्न नसकेर ब्याक हुँदा भीरबाट खसेको प्रहरीसमक्ष बयान दिएका छन्। उनकी आमा मीना र भिनाजु बेदुको पनि सोही दुर्घटनामा मृत्यु भयो।

शुक्रबार बिहान सुरक्षाकर्मीले कतिपय शव आफैंले बोकेर र कतिपय डोरीले बाँधेर तान्दै माथि बाटोसम्म पुर्याएका थिए। अफ्ठ्यारो पहरा भएकाले मध्याह्न १२ बजेपछि मात्र सबै शव सङ्कलन गरी बाटोमा पुर्याउन सकिएको थियो। सनाखतपछि शवहरू पोस्टमार्टमका लागि रुकुमकोट अस्पताल पठाइने र त्यसपछि मात्र आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button