१९ बैशाख २०८३, शनिबार

‘जग्गा सरकारी होला, तर जनता राज्य बाहिरका होइनन्’: एमाले सचिव बस्नेत

काठमाडौं — नेकपा एमालेका सचिव महेश बस्नेतले सुकुम्बासी बस्तीमा भइरहेको डोजर कारबाहीलाई ‘राज्य आतंकको पराकाष्ठा’ भन्दै कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक विचारमा उनले भनेका छन्, ‘जग्गा उनीहरूको नहुन सक्छ, कागजपत्र नहुन सक्छ। तर त्यहाँ बस्ने मानिसहरू राज्यबाहिरका होइनन्। उनीहरू यही देशका नागरिक हुन्। उभिने ठाउँ र सम्मानका साथ बाँच्ने अधिकार उनीहरूलाई पनि बराबरी छ।’

बस्नेतले व्यवस्थापन नगरी विस्थापन गर्नु समाधानको बाटो नभएको बताउँदै छिटो, न्यायोचित र मानवीय ढङ्गले समाधान खोजिनुपर्नेमा जोड दिए। ‘वर्षौंसम्म भुटानी शरणार्थीलाई शरण दिने हामीले कानुनी पाटो मात्र होइन, न्यायोचित र मानवीय पक्ष पनि हेर्नुपर्छ,’ उनले भने।

उनले वर्षायाममा मानिसहरूलाई रोग, पीडा र रुवाबासीमा धकेल्नु, विद्यालय र धार्मिक संरचना भत्काउनुलाई अमानवीयता र राज्य आतंकको पराकाष्ठाको संज्ञा दिए। ‘जग्गा सरकारी होला, तर जनता के त? राज्यको अस्तित्व नै जनताबाट हो भने त्यही जनतालाई लखेटेर कसरी शासन चल्छ?’ उनले प्रश्न गरे। यदि यस्तै घटना एमाले, कांग्रेस वा माओवादीको पालामा भएको भए कस्तो बहस र दोषारोपण हुन्थ्यो होला भन्दै उनले सरकारको मौनताप्रति व्यङ्ग्य गरे। ‘गरिबको पीडा गीतमा मात्र सीमित राख्ने कि व्यवहारमै न्याय दिलाउने?’ उनले प्रश्न गरे।
#सुकुम्बासी #बस्नेत #डोजर

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button